इतिहासमा ‘ कानेपोखरी’


 

बिवेक खतिवडा
कार्तिक २, कानेपोखरी । कानेपोखरी चोकको पुर्व पश्चिम् महेन्द्र राजमार्गदेखि कानेपोखरी रंगेली हुलाकी राजमार्ग तर्फ आठ सय मिटर तल आउनुस त तपाइको नजर एतिहासिक सुन्दर पोखरी तिर पर्न जान्छ । त्यहा सडक देखिनै तपाईंको ध्यानाकर्षण गर्ने एक अनोठो सालिकलाई देख्नु हुनेछ । त्यो हो ठाडो परेको कानको सालिक यसले कानको सालिकमा त्यस्तो के अनोठो देखियो भनेर सोच्नुहोला । एक पटक तपाई सम्झनु होस त यस्तो सालिक अन्य कुनै स्थानमा रहेको जानकारी पाउनुभएको छ पक्कै पनि छैन होला किनकी विश्वकै एकमात्र कान आकारको सालिक हो कानेपोखरीको कानको सालिक २०७८ सालमा पाँच लाख लागतमा निर्माण गरिएको यो कानको सालिक हेर्न टाढा टाढाबाट पर्यटक आउने गरेका छ्न ।

केही समय अगाडीसम्म गुमनाम रहेको पोखरीमा कानको सालिक राखेपछि भने अहिले दिनहुँ पर्यटक घुम्न आउने गरेका छ्न । अब कानकै पछाडि पटि रहेको पोखरीलाई एकपटक निहाल्नुहोस त सफा र सुन्दर देखिने पोखरीमा माछा भने अवश्य देख्नु भयो होला तर अन्य स्थानका पोखरी जस्तो फोहोर र पातपतिङ्गर भने देख्न सकिदैँन । चराचुरुङ्गीहरुले चुच्चोले च्यापेर त्यहाँ भएको फोहोर र पातपतिङ्गर निकाल्ने हुनाले त्यहाँ फोहोर भएको देख्न सकिदैँन । यो अनोठो पोखरीको नाम हो कानेपोखरी यहि पोखरीको नामबाट पालिकाको नाम कानेपोखरी गाउँपालिका राखिएको हो।

नेपालको संविधान २०७२ अनुसार देशमा रहेको सबै गाउँ विकास समिति (गा.वि.स.) हटेर स्थानीय सरकार आउँदादेखि नै यो पालिका को नाम कानेपोखरी गाउँपालिका राखिएको हो । पोखरी नजिक पुर्व पश्चिम् राजमार्ग मा रहेको चोकलाई समेत एतिहासिक पोखरीकै नामले चिन्ने गरिन्छ । केरौन, बयरवन र होक्लाबारी गरि तिन गाउँ विकास समिति मिलेर बनेको कानेपोखरीकै ऐतिहाशिक पोखरीको रुपमा यसलाई लिइएको छ । कानेपोखरी रंगेली हुलाकी राजमार्गको छेउमा पर्ने यो पोखरीको आफ्नै विशेषता छ। कान आकार रहेको पोखरीले आठ कठ्ठा भुभाग ओगटेको छ । ग्रामिण सुधार सामुदायिक वनका पुर्व अध्यक्ष नवीन राईले पोखरीको गहिराई पन्ध्र फिट रहेको र अहिले आठ फिट पानी रहेको जानकारी दिनुभयो ।

ऐतिहासिक कानेपोखरीको इतिहास यकिनका साथ कसैलाई थाहा छैन । अहिलेसम्म पनि त्यो पोखरीको उत्पती कसरी भयो भन्न सकिदैँन। यस पोखरी गोठालाहरुले गाईवस्तुलाई पानी खुवाउन खनेको हुन सक्ने आंशका भने सबैले गरेका छ्न । यस पोखरीमा देविको बास भएको बताइन्छ। विराट राजाको पालामा विराट राजा शिकार खेल्न आउँदा आफू चढेको घोडालाई पानी खुवाउन र शितल ताप्न त्यस पोखरिमा आउने गरेका थिए । पाँच पाण्डव बनवास बस्दा पानी पिउन त्यस पोखरीमा आउने गरेको पनि कता कता सुन्न सकिन्छ । अहिले जङ्गलमा रहेका जरायो, मृग, खरायो, चित्तल, ढेडु, बाँदर जस्ता जंगली जनावर र चराचुरुङ्गीले त्यही पोखरीको पानी पिउने गरेका छ्न ।

२०७८ सालमा कानेपोखरीलाई पर्यटकीय स्थल बनाउन कानको सालिक र हरिणको सालिक राखिएको थियो भने प्रतीक्षालय, शौचालय, गेट जस्ता संरचना निर्माण गरिएको थियो । अहिले पोखरीमा पानीको धारा र बिजुली बत्ति समेत पालिकाले जडान गरेको छ। पानीको धारा राखेपछि घुम्न आउने पर्यटकले प्यास लाग्दा पानी पिउन पाएका छ्न । त्यस्तै बिजुली बत्ति जडान गरेपछी भने रातको समयमा सडकमा ओहोर-दोहोर गर्ने मानिस हरुले समेत ऐतिहासिक कानेपोखरीको सुन्दर दृश्य देख्न र अवलोकन गर्न समेत सक्छ्न।

कानेपोखरी गाउँपालिकाले ऐतिहासिक पोखरीमा आफु खुसी केही गर्न नमिल्ने वन कार्यलयसँग सहकार्य गर्नुपर्ने र त्यस क्षेत्रको वन कार्यलयहरु दर्ता नभएको कारण यस आर्थिक बर्ष पर्यटन आकर्षण गर्नको लागि विकास निर्माणको कार्यक्रम पालिकाले नराखिएको कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीले बताउनुभयो ।

पोखरीको छेउछाउमा निगुरो पाइन्छ । त्यहाँ निगुरो टिप्न निक्कै मानिसहरु आउने गरेका छ्न । पोखरीदेखि आठ सय मिटर पर रहेको कानेपोखरी चोक खिरको लागि प्रसिद्ध स्थान हो त्यसैले बाहिर बाट घुम्न आउने पर्यट्कहरुले पोखरीलाई खिरपोखरी समेत भनेर चिन्ने गरेका छ्न ।

पोखरीको छेउमा धिमाल समुदायको थान रहेको छ भने पोखरीको डिल नजिक परापूर्व कालमा माटोको इनार रहेको पत्ता लागेको थियो । ज्येष्ठ महिनाको दस गते धिमाल समुदायले पोखरी छेउमा रहेको धिमाल समुदायको थानमा धिमाल जातिले मनाउने जात्री मेलाको आयोजना गरि थानमा पुजा गर्ने गरेका छन । मेला लगाउन सरसफाइ गर्ने क्रममा पोखरीको डिलमा इनार भेटियो । इनार भेटिएको केही दिन पछि धिमाल जातीय विकास केन्द्र कानेपोखरीले कानेबेराङ, कानेबकुल्ला र कानेझारको सालिक स्थापना गरिएको थियो ।

पहिला ऐतिहासिक पोखरीमा धिमाल समुदायको बस्ती थियो। कानेबेराङ त्यही बस्तीमा बसोबास गर्ने महिला योद्धा थिइन । पोखरीमा ठूलो दह रहेको र त्यहाँ कानेझार, माछा, गगटो र घुगी पाइन्थ्यो । धिमाल जातिको खानेकुरा भनेको पानीमा पाउने माछा, गगटो, घुगी र जंगलमा पाउने कन्दमुल हो । पोखरीमा रहेको माछा खान कानेबकुल्ला आउने गर्दथियो ।

धिमाल समुदायको इतिहासकार कोहि पनि छैन तर धिमाल समुदायकै अग्रज व्यक्ति र विभिन्न लेख अनुसार धिमाल जातिको बसोवास उतर पुर्वमा किराँतीको रुपमा रहेको पाइन्छ । धिमाल समुदाय इवाइन्काका दस भाइ छोरा मध्ये कान्छो छोरा दावाथान्काका जेठो छोरो धिकम्पाका सन्तान रहेको धिमाल जातीय विकास केन्द्र कानेपोखरी अध्यक्ष प्रकाश धिमालले बताउनुभयो ।

पृथ्वीनारायण साहले नेपाल एकीकरण गर्दा किराँत राज्यमा समेत युद्ध लडेका थिए । त्यस समय किरात राज्यबाट युद्ध लड्दा कानेबेराङ्ले आफ्नो दुवै आँखा गुमाएकी थिइन । पोखरीमा पाउँने कानेझार, माछा खान आउने कानेबकुल्ला र दुवै आँखा गुमाएकी कानेबेराङको नामबाट पोखरीको नाम कानेपोखरी राखिएको समेत अध्यक्ष धिमालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्