उर्लाबारीमा द एभरेष्ट साकोसको कारोबार सुरु


उर्लाबारी, १४ माघ । झापाको दमक नगरपालिका – ५ मा मुख्य कार्यालय रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आजबाट उर्लाबारीमा पनि कारोबार सुरु गरेको छ ।

उर्लाबारी – ७ इटहरा रोडस्थित मुख्य चौकमा सेवा केन्द्र उद्घाटन गरेसँगै सो सहकारीले कारोबार सुरु गरेको हो । सो सेवा केन्द्रको आज एक कार्यक्रमकाबीच उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारीले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी भण्डारीले सहकारीले यहाँका उद्योगी व्यवसायीलाई सक्षम र सबल बनाउन भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

सहकारीले पुँजी बढाउनमा भन्दा पनि यहाँका शेयर सदस्य रहेका उद्योगी व्यवसायीलाई मजबुत बनाउन सकेमात्र सहकारी सफल हुने धारणा राख्नुभयो । प्रमुख अतिथी भण्डारीले उर्लाबारी सेवा केन्द्रमा पहिलो खाता खोल्नुभएको थियो । २०६८ सालमा स्थापना भएको सो सहकारीले झापा बाहिर पहिलो पटक उर्लाबारीमा सेवा केन्द्र खोलेको हो । सो सहकारीले यसअघि झापाको केरखा, सुरुङा, विर्तामोड, बुधबारेमा सेवा केन्द्र खोलिसकेको छ भने धुलाबारी र शिवसताक्षीमा अन्तिम तयारी भईरहेको अध्यक्ष दिपक खरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्