शेयर सदस्यको हितमा हाम्रो साकोस, ७ हजार बढि सदस्य


उर्लाबारी । मोरङकै अग्रणी सहकारी संस्था हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड उर्लाबारी ५ मा शेयर सदस्यको संख्या ७ हजार बढी पुगेको छ ।
अघिल्लो आर्थिक वर्षमा शेयर सदस्य ६ हजार ८९२ रहेकोमा गत आर्थिक वर्ष २०७९/८० मा ३६८ जना थप भई ७२६० पुगेका छन् । चालु आर्थिक वर्षमा थप ३०० शेयर सदस्य थप गरी ७ हजार ५ सय बढी पुर्याउने संस्थाको लक्ष्य रहेको छ ।

सहकारीका नीति, योजना र कार्यक्रमसहित सदस्यहरुको हितमा संस्थाले पुर्याउँदै आएको सेवाका कारण हाम्रो सोकासमा आकर्षण बढ्दै गएको हो । सो संस्थामा उर्लाबारी नगरपालिकासहित पथरीशनिश्चरे, रतुवामाई, लेटाङ नगरपालिका र मिक्लाजुङ गाउँपालिकाका शेयर सदस्यहरु आबद्ध रहेका छन् । संस्थाले सदस्यहरुको हितलाई ध्यान दिँदै साँझ ७ बजेसम्म नै कार्यालय खुल्ला राख्नुका साथै बचत संकलनका लागि साँझ ६ बजेसम्म नै व्यवस्थापन गर्दै आएको छ । संस्थाले महिला शेयर सदस्यहरु प्रसुति भएमा शिशुको नाममा नि : शुल्क खाता खोलेर २ हजार रुपैया बचत समेत गर्दै आएको छ । गत आर्थिक वर्षमा यो कार्यक्रमबाट ४५ जना लाभान्वित भएका थिए ।

संस्थाले आफना शेयर सदस्यहरुको निधन भएमा सदस्य बनेको वर्ष गणना गरेर २० हजारसम्म राहत समेत प्रदान गर्दै आएको छ । गत आर्थिक वर्षमा १५ जना शेयर सदस्यका परिवारलाई राहत रकम प्रदान गरिएको संस्थाका अध्यक्ष डिबी थापाले जानकारी दिनुभयो । संस्थाको गत साधारण सभाको निर्णय अनुसार सदस्यहरुको परिवारका सदस्यको निधन हुँदा राहत बापत प्रति सदस्यलाई ५ हजार रकम समेत सहयोग गर्दै आएका छ । २०७९ असोज ११ गतेदेखि २०८० असार मसान्त सम्ममा २२५ जना सदस्यहरुले सदस्य राहत वापतको रकम प्राप्त गरेको कोषाध्यक्ष ज्ञानेन्द्र भट्टराईले जानकारी दिनुभयो । संस्थाले क्यान्सर, मुटु र मृगौला रोगका कारण उपचाररत शेयर सदस्यलाई प्रमाणका आधारमा एक पटक प्राप्त गर्ने गरी उपचार खर्च १० हजार र सर्पको डसाईबाट उपचार गरेका सदस्यहरुलाई ४ हजार उपचार खर्च प्रदान गर्दै आएको सचिव मनोरथ भण्डारीले जानकारी दिनुभएको छ । संस्थाले अपांगता सहयोग, जेष्ठ नागरिक सम्मान् खर्च, जेष्ठ सदस्य भ्रमण लगायत पनि गर्दै आएको छ । संस्थाले धितो जग्गा नहुने र व्यवसाय संचालन गर्ने र गरिरहेका संस्थाका सदस्यहरुको हितका लागि लघुवित्त कार्यक्रम समेत संचालन गर्दै आएको छ । लघुवित्त समुहको सदस्य वनाई समुह जमानीमा प्रति सदस्य ७५ हजारसम्म लघुकर्जा शिर्षक अन्र्तगत ऋण प्रवाह गर्दै आएको संस्थाका संचालक समिति सदस्य केदार चौहानले जानकारी दिनुभएको छ ।

उक्त कार्यक्रम अन्र्तगत हाल जम्मा ६४ वटा समुहहरु क्रियाशिल छन् भने यी समुहमा ५५० जना सदस्यहरु आवद्ध रहेका छन् । संस्थाले आगामी मंसिर १० गते स्थापना दिवसको अवसरमा ६० वर्ष माथिका ५१ जना जेष्ठ शेयर सदस्यलाई सम्मान् गर्ने योजना बनाएको छ । अघिल्लो आर्थिक वर्षमा संस्थाको शेयर पुँजी ३ करोड ४८ लाख ३७ हजार १ सय रहेकोमा गत आर्थिक वर्षमा ३ करोड ७८ लाख ६० हजार ७ सय पुगेको छ । अघिल्लो आर्थिक वर्षमा संस्थाको बचत निक्षेप ३३ करोड ४७ लाख ५४ हजार ३७७ रहेकोमा गत आर्थिक वर्षमा ३४ करोड ६३ लाख १३ हजार ३२ रुपैया पुगेको संस्थाको संस्थाका व्यवस्थापक चक्रबहादुर खड्काले जानकारी दिनुभयो । संस्थाले आफ्नो २७ औँ साधारणसभा आगामी असोज २८ गते घटस्थापनाका दिन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्