थारु महिलाहरुलाई घरको चुलाचौकामा मात्र सिमित गरिनुहुन्न : अध्यक्ष इङ्नाम


सनम रोक्का
असोज २१, कानेपोखरी । मोरङ कानेपोखरी -२ केरौंनमा सम्पन्न भएको जितिया पर्व विशेष सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी गाउँपालिका अध्यक्ष राजमती इङ्नामले यस जितिया पर्वमा विशेष गरी विवाहित थारु महिलाहरु निराहार, कठोर व्रत बसी परिवार र सन्तानको सुखशान्तिका लागि कामना गर्छन् तर केहि थारु महिलाहरु घरको चुलाचौकामा मात्र सिमित भएको साथै समुदाय भित्र गुम्सिएर बसेको अवस्था छ, उनिहरुलाई समाज र राष्ट्रमा अग्र स्थानमा ल्याउन थारु समुदायलेनै प्रयास गर्नुपर्ने सुझाव दिइन । उनले भनिन, ‘हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसंस्कृतीक, बहुधार्मिक छ यस अवस्थामा हामी सम्पूर्णले एकअर्काको पर्व, संस्कृती, परम्परा, पहिचान, पोशाक र भाषालाई सम्मान गर्दै मेलमिलापका साथ अघि बढ्नुपर्छ’ ।
अध्यक्ष इङ्नाम लगायत थारु समुदायको महिलाहरुले ‘जितमहान भगवान’ को पूजाअराधना गर्दै कार्यक्रमको औपचारिक उद्धघाटन भएको थियो ।

त्यस्तै विशिष्ट अतिथी पालिका उपाध्यक्ष भोला प्रसाद अधिकारी कार्यक्रममा बोल्दै थारु सँस्कृति जोगाउनु पर्नेमा जोड दिए । हामी सबै जातजातिहरु एकअर्कासँग अन्तरसम्बन्धित रहेको र हाम्रा संस्कृती, रितिरिवाज र परम्पराहरुलाई एकअर्काले नै जोगाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने कुरा व्यक्त गरे ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले कार्यक्रमको सफलताको शुभकामना दिदैँ जितिया पर्व जस्ता जातिगत पर्वहरुले समुदाय-समुदाय बिचको सम्बन्ध प्रगाढ बनाउने काम गरेको लगायतका विषयबारे कुरा राखेको थिए ।

जितिया कार्यक्रममा पालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला प्रसाद अधिकारी, वडा अध्यक्ष सुशील बुढाथोकी, थारु कल्याणकारी जिल्ला अध्यक्ष प्रदिप भगत, आदिवासी कानेपोखरी अध्यक्ष भोजबिर माझी लगायत स्थानीय दर्शकको बाक्लो उपस्तिथि रहेको थियो । सांस्कृतिक कार्यक्रममा थारु समुदायका चर्चित कलाकार साथै स्थानीय कलाकारले आफ्नो प्रस्तुती दिएका थिए ।

शनिबार हिन्दू पात्रोअनुसार असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने जितिया पर्व सकिँदै गर्दा केरौंन चोकमा पूजाआजा, चौधरी समुदायको विशेष परिकार र संस्कृतिलाई झल्काउने नृत्य-संगितहरु प्रस्तुत गर्दै जितिया पर्व विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । थारू समुदायमा विशेष मानिने जितियाको उपवास बस्ने महिलाहरू सन्तान तथा सौभाग्य समृद्धिको निम्ती जितमहान देवतालाई समर्पण गरी फलफूलले डाली भर्ने , कथा सुन्ने गरिन्छ । केराको पातमा दही च्यूउरा , फलफूल चढाएपछि घिरौलाको पातबाट शुरू भएको जितिया केराको पातमा गएर सम्पन गरिने चलन रहँदै आएको छ ।

कार्यक्रमको आयोजना थारु कल्याणकारीणी सभा, कानेपोखरी गाउँपालिका कार्यसमितिले गरेको हो भने गाउँपालिकाले आर्थिक सहयोग गरेको छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्