देशमै पहिलोपटक पथरी शनिश्चरे ८ ले सुरु गर्‍यो वडादेखी ढोकासम्म कार्यक्रम


कानेपोखरी, असोज १४ । मोरङ पथरी शनिश्चरे ८ ले देशमै पहिलोपटक वडादेखी ढोकासम्म कार्यक्रम सुरु गरेको छ ।

नेपालको संविधान २०७२ ले गाउँगाउँमा पुर्‍याएको सिंहदरबारलाइ जनताको घरघरसम्म पुर्‍याउनको लागि जनताको सहजतालाई मध्यनजर गर्दै महत्त्वपूर्ण कागजपत्र तयार गरि घरसम्मै पुर्‍याउने काम सुरु गरेको अध्यक्ष नवीन कार्कीले बताए ।

दिनभरिको काम छाडेर एउटा कागज बनाउन वडा कार्यालयसम्म आउँदा अरु थुप्रै कागजिय झन्झट नहोस, कार्यलयको कोठाकोठा कुदेर दु:ख नहोस, जेष्ठ नागरिक आमाबुवाहरु, अपांगता/अशक्त भएका व्यक्तीहरुलाई दु:ख नहोस, घरपरिवार चलाउन वडादेखि बाहिर देश/विदेश गएकाहरुलाई पनि उतैबाट आफ्नो परिवारको कागजात बनाउन सहज होस (अहिले गाउँमा प्रायः बुढाबुढी मात्रै छन, छोराछोरी सबै उज्यालो भविष्यको खोजिमा बाहिर) भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गरेका छौँ, अध्यक्ष कार्किले बताए ।
जन्मेको ३५ दिनभित्रमा जन्मदर्ता, मृत्यु भएको ३५ दिनभित्रमा मृत्युदर्ता, जन्म प्रमाणित, मृत्यु प्रमाणित, अस्थायी/स्थायी बसोवास प्रमाणित, विपन्न नागरिक सिफारिस, ६८ बर्ष पूरा भएपछि राज्यले दिने जेष्ठ नागरिक भत्ता कार्ड, अपांगता परिचयपत्र सिफारिस, दिर्घरोगी सिफारिस, रातो र निलो कार्ड भएको अपांगता भएका व्यक्तिहरुको सबै प्रकारको सिफारिस वा प्रमाणित, ७५ बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुको सबैप्रकारको सिफारिस वा प्रमाणित गर्ने कामहरु हुने वडा कार्यालयले जानकारी गराएको हो ।

माथी उल्लेखित सेवाहरु होम डेलिभरी सेवा (वडादेखी ढोकासम्म) सेवा लिनको लागि जनताले आवश्यक कागजपत्रहरु स्कान गरेर वा बुझिने गरी फोटो खिचेर ९८४२०३४९१५ नम्बरको वाट्स एप वा पथरी शनिश्चरे वडा आठका अध्यक्ष नविनजङ कार्की फेसबुक आइडीमा म्यासेज वा (psmunward8@gmail.com) मा इमेल गरेर पठाउनु पर्नेछ। पठाउने केही नभएमा वडा सदस्यहरुलाई पनि दिएर पठाउन सक्नेछन । सो कागज आएको २४ घण्टाभित्रमा सम्बन्धित जनताको घरमा जनप्रतिनिधि वा वडाका कर्मचारीहरु मार्फत घरमा कागजपत्र आइपुग्नेछ । यसो गर्दा जनताको मुख्यतः समय बचत हुनेछ । फारम भर्ने र फोटोकपी गर्ने पैसा बचत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्