खेलकुद सामग्री मुसाले काटेको विषय : वडा अध्यक्षको स्पष्टीकरण


सनम रोक्का
कानेपोखरी, भदौ ६ । यतिबेला सामाजिक सञ्जालमा कानेपोखरीको एउटा विषय निकै पेचिलो बनेर आएको छ । मोरङ कानेपोखरी ७ मा खेलकुदका केहि सामग्रीहरु वडा भित्रै मुसाले काटेको अवस्थाको तस्बिर बाहिरिदा यस विषयलाई लिएर सामाजिक संजाल तरङ्गित बनेको छ ।

वडा नं. ७ का वडा अध्यक्ष मोहन प्रसाद अधिकारीको कार्यकक्षको दराजमै हेर्दा लामो समयदेखि थन्किएर मुसाले काटेको अवस्थामा रहेको ७ थान फुटलबलहरु फेला परेको छ । खेलाडिहरुलाई वितरण गर्ने प्रयोजनका साथ खरिद गरिएका फुटबलहरु यसरी मुसाले टुक्राटुक्रा पार्ने गरि थन्काएर राख्नु गलत भएको स्थानीयको भनाई छ ।

७ नम्बरका अध्यक्ष मोहन प्रसाद अधिकारीले स्पष्टीकरण दिदैँ यस विषय सामान्य रहेको र यथार्थ विषयवस्तुलाई बुझेर मात्र बाहिर ल्याउन सबैसँग अनुरोध गरे । गत आर्थिक वर्ष २०७९/८० को असार १२ गते पालिकाले ९९ हजार ८३६ रुपैयाँमा ६ थान भलिबल, २-२ थान भलिबल र फुटबल नेटजाली, १९ थान फुटबल र ३० थान जर्सी सेट खरिद गरि साउनको ३ गते वडालाई प्रदान गरेको थियो । पालिकाले हामीलाई सो सामग्रीहरु प्रदान गरेपश्चात वडा कार्यालयमा स्टोर गरेर राख्यौं । हाम्रो कार्यालयमा २०८० जेठदेखिनै धानको बिऊ पनि स्टोर गरेर राखिएको थियो ।

सोहीबेलाको ४-५ दिनको अवधिमा धाराको पाइपबाट मुसा छिरेर धान खाँदा नजिकैको ७ थान फुटबल पनि काटेको हो । धान स्टोर गरिएको कक्षमा बस्न सकिने अवस्था थिएन । हामीले पनि अर्कै कोठाबाट सेवा प्रदान गर्‍यौं । पालिकाबाट प्राप्त गरेपछि एउटा टोलिलाई हामीले खेलकुद सामग्री प्रदान गर्‍यौं र बिचको समयमा क-कसलाई दिने भनेर छलफलपछि साउन ९ गते खेलकुदको सामग्री हेर्दा ७ वटा फुटबल काटेको पत्ता पायौं र काटेको र नकाटेको छुट्याएर टोल, खेलाडी र फुटबल क्लबहरुलाई प्रदान गरेका हौं, अधिकारीले भने ।

‘वडाले प्रेम लिम्बुलाई भलिबल १ थान, मितेरी युवा क्लब आइतबारेलाई फुटबल नेट १ सेट र फुटबल २ वटा, साइज्य युवा क्लबलाई फुटबल २ वटा, नवस्पोर्टिङ युथ क्लबलाई फुटबल २ वटा र १५ सेट जर्सी, भगिराज लिम्बुलाई फुटबल २ वटा र भलिबल १ वटा र जनकल्याण माविलाई १५ सेट जर्सी, भलिबल नेट १ थान र भलिबल २ वटा प्रदान गर्यौ । अब ४ वटा फुटबल, १-१ वटा फुटबल र भलिबल नेटजाली र २ वटा भलिबल बाँकी रहेको अध्यक्ष अधिकारीले बताए । अब यी बाँकी रहेका सामग्रीहरु चाडैं प्रदान गरिनेछ, ‘उनले भने । अधिकारीका अनुसार वडामा आवश्यक पूर्वाधारको अझै पनि अभाव छ । अलग्गै स्टोर रुमको व्यवस्था छैन । हामीले काम गर्दागर्दै सामान्य गल्ती भएको हो तर आपसमा बसेर कमिकमजोरीलाई समाधान गर्नुको साटो सामाजिक संजालमा अराजक मच्चाउनु राम्रो नभएको सुनाए । बाहिर सार्वजनिक भए अनुसार ७-८ महिनादेखि थन्काएर राखेको भन्ने कुरा गतल भएको बताए । गाउँपालिकाद्वारा गत स्थानीय तहको निर्वाचनपश्चात् वडागत रुपमा वितरण भएका खेल सामग्रीहरु त्यो समयमानै वितरण गरिसकिएको पनि जानकारी दिए ।

स्थानीय समाजसेवी कृष्ण थामीका अनुसार खेलाडी भाईहरुले वडामा खेलकुदका सामग्रीहरु छन पहल गरिदिनुपर्‍यो भनेपछि मैले वडामा बुझ्दा ७ थान फुटबलहरु दराजमुनी मुसाले काटेको अवस्थामा देखे र सोपश्चात नागरिकको सम्पत्तिको दुरुपयोग भयो भन्ने कारणले फोटो सामाजिक सञ्जालमा पोष्ट गरेको हुँ । स्थानीय स्तरमा खेलाडीहरुले पर्याप्त खेल सामग्री पाएका छैनन । यहाँ स्टकमा राखी-राखी मुसाले खाने अवस्थासम्म पुर्‍याउनु गलत हो ।

कानेपोखरी गाउँपालिकाले २०७९/८० बजेट अन्तर्गत गत साउनको पहिलो हप्ता वडागत रुपमा १ लाख रुपैयाँ बराबरको भलिबल, फुटबल, नेट, जर्सी, लगायतका खेलकुद सामग्रीहरु प्रदान गरेको थियो र सोही सामग्रीहरुमा वडामा वितरण गरेको सोही वडा एक सदस्यले बताए । ‘वडाका टोल, फुटबल क्लबहरुमा हामीले सो सामग्रीहरु बाड्यौँ र केहि उभ्रीएका सामग्रीहरु वडाको कार्यकक्षमै थियो र केहि सामग्रीहरु मुसाले काटेको यथार्थ भएको सुनाए ।

प्रतिक्रिया दिनुहोस्