मदन भण्डारी अस्पतालमा अक्सिजन उत्पादन सुरु, एचडियु पनि हुँदै


उर्लाबारी, ८ माघ । मोरङको उर्लाबारी नगरपालिका – ३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर आफैले अक्सिजन उत्पादन सुरु गरेको छ । अस्पतालमा स्थापित प्लान्टबाट अक्सिजन उत्पादन सुरु गरिएको अस्पतालका सुचना अधिकारी निराजन पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो प्लान्टबाट दैनिक १५ देखी १७ सिलिण्डरसम्म अक्सिजन उत्पादन हुनेछ । कोभिड–१९ को महामारीसहित अस्पतालमा आउने विरामीहरूलाई अक्सिजनको कमी हुन नदिन सो अक्सिजन प्लान्ट राखिएको हो । संघीय सरकारले गत आर्थिक वर्षमा नै मदन भण्डारी अस्पतालमा अक्सिजन प्लान्ट बनाउन ७५ लाख रुपैया बजेट दिएको थियो ।

उत्पादित अक्सिजन हाललाई अस्पताललाई पुग्ने सुचना अधिकारी पौडेलले जानकारी दिनुभयो । अस्पतालमा हाई डिपेन्डेन्सि युनिट (एचडियु) सेवा पनि सुचारु गर्ने तयारी भईरहेको छ । सो सेवा संचालनमा ल्याउन हाल तयारी भईरहेको अस्पताल प्रशासनले जनाएको छ । हाई डिपेन्डेन्सि युनिट (एचडियु) आईसियु भन्दा अलि कमको सेवा भएको वार्ड हो ।

प्रतिक्रिया दिनुहोस्