बर्जु घटनाको अध्ययनका लागि स्वतन्त्र र न्यायिक छानवीन समिति गठन गर्न एमालेको माग


विराटनगर, ८ माघ । सुनसरीको बर्जु गाउँपालिका ६ को खेल मैदानमा गत माघ ४ गते भएको घटनाको स्वतन्त्र र न्यायिक समितिबाट छानवीन गर्न एमाले बर्जु गाउँकमिटीले माग गरेको छ ।

विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै एमालेले सुनसरी प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरेको समितिले स्वतन्त्र छानवीन गर्न नसक्ने एमालेको ठहर छ । बर्जु एमाले अध्यक्ष दिलबहादुर गुरुङ र सचिव राजेशकुमार चौधरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ,‘ जिल्ला प्रशासन कार्यालयबाट गठन भएको छानवीन समिति विश्वसीनय छैन । घटनाका दोषी गाउँपालिकाको प्रतिनिधिलाई समेत राखेर गरिएको छानवीनले सही निश्कर्ष दिन सक्दैन ।’ एमालेले सुनसरी प्रशासनले कोभिड १९ को संक्रमण बढेको भन्दै मेला रोक्न गरेको पत्राचारलाई वेवास्ता गरि कार्यक्रम गर्न बलजफ्ती गर्ने गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरीलाई अविलम्व कारवाही गर्न र घटनाको दोषीको रुपमा जिम्मेवारी लिदैं राजीनामा गर्न माग गरेको छ ।

घटनाको विषयमा निश्पक्ष छानवीन गरि सत्यतथ्य सार्वजनिक गर्न राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराईएको छ । जनताको गैरकानूनी रुपमा असुल गरिएको रकम यथाशिघ्र फिर्ता गरि दोषीलाई ठगीमुद्धा समेत चलाउन एमालले माग गरेको छ । विभिन्न समितिको नाममा मुख्यदोषीलाई उन्मुक्ति दिने र मेलामा गएका सर्वसाधारणलाई फसाउने गरि गरिएका सम्पूर्ण हर्कतहरुको समेत निन्दा गरिएको छ ।

सुनसरीको बर्जु गाउँपालिका वडा नम्वर ६ मा रहेको बर्जुतालको खेल मैदानमा गत पुस २३ गतेदेखि सञ्चालित तेश्रो बर्जु महोत्सवमा माघ ४ गते भारतीय भोजपुरी गायकलाई कार्यक्रम स्थलमा नल्याएको भन्दै टिकट काटेका स्थानीय तोडफोड र आगजनीमा उत्रता ३ करोड ५० लाख बडीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । दिन भएको दुखत घटना प्रति हाम्रो गौरवशाली पार्टी नेकपा एमाले बर्जु कमिटीको गंभिर ध्यानाकर्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस्