खेलमैदानको स्तरोन्नति गरिदिन पालिकालाई ज्ञापन पत्र


कानेपोखरी, असार ९ । खेलकुदले शारीरिक, मानसिक, बौद्धिक एवं संवेगात्मक क्षेत्रलाई मजबुत बनाउने काम गर्छ तर यसलाई राष्ट्र वा स्थानीय निकायले खासै चासोको रुपमा लिइएको पाइदैंन ।

यसै विषयलाई ध्यानाकर्षण गराउँन उज्ज्वल भविष्य बाल क्लब र ड्रीम एकेडेमी कानेपोखरी ६ रमाइलोले संयुक्त रुपमा कानेपोखरी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत समक्ष ज्ञापन पत्र बुझाएका छन ।

खेलप्रेमी र स्थानीय गरि ७८ जनाद्वारा हस्ताक्षरित ज्ञापन पत्र अध्यक्ष राजमती इङ्नाम र अधिकृत विष्णु कुमार थेगुवा समक्ष खेलसँग सम्बन्धित विषयहरु उल्लेखित गर्दै सो पत्र बुझाइएको हो ।

ज्ञापन पत्रमा कानेपोखरी ६ स्थित जनसेवा माविमा रहेको खेलमैदानको स्थिति निकै जिर्ण भएको कारणले वृद्धवृद्धाहरुलाई हिंड्डुल गर्न, व्यायाम गर्न, विभिन्न खेलहरु खेल्न त्यहाँ भएको खाडल, बाक्लो घाँस, गिट्टी, बालुवा, विभिन्न फोहोरका कारणले गर्दा असहज भएको उल्लेख छ । स्थानीय सरकार नजिकै हुँदा पनि खेलाडी र सर्वसाधारणलाई समस्या भएको र विगतमा स्थानीय सरकार नहुँदा पनि स्थानीय स्तरबाट राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन हुने तर हाल स्थानीय सरकारले खेललाई आफ्नो स्वामित्व राखेपनि चासो नदिएको गुनासो व्यक्त गरिएको छ । पत्रमा स्थानीय सरकारले खेल मैदानको स्तरोन्नति तथा वरपरको वातावरण स्वच्छ बनाइदिन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्