उर्लाबारीको मेयरमा वडाध्यक्ष पराजुलीको दाबेदारी


उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष भानुभक्त शर्मा पराजुलीले आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा उर्लाबारी नगरपालिकाको मेयरको उम्मेद्वारमा दाबेदारी रहेको बताउनुभएको छ ।

आज विहान एक रेडियो कार्यक्रममा बोल्दै वडाध्यक्ष पराजुलीले मेयरमा आफ्नो उम्मेद्वारी स्वभाविक भएको जिकिर गर्नुभयो । ‘वडाध्यक्षबाट सिधै प्रदेश र संघीय सांसदमा दाबी गर्ने होइन मेयरमै जाने हो, त्यसैले मेरो दाबी स्वभाविक हो’ उहाँले भन्नुभयो । पार्टी उचित निर्णय गर्ने र आफुलाई त्यो मान्य हुने पनि उहाँको भनाई छ । यद्यपी पार्टीले मेयर, उपमेयर वा वडाध्यक्ष जुन पदमा उठाएपनि आफुले त्यो जिम्मेवारी रहेर काम गर्ने उहाँले बताउनुभयो । पार्टीको १४ औं महाधिवेशनमा शेरबहादुर देउवा पक्ष भएकै कारणले चौतर्फी घेराबन्दीमा पारेर क्षेत्रीय प्रतिनिधिमै हराएको उहाँले दाबी गर्नुभयो ।

उर्लाबारी नगरपालिकाका ९ वटै वडाध्यक्षमध्ये कार्यसम्पादनमा आफु पहिलो रहेको पनि दाबी गर्नुभयो । उहाँले उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोसँगको ब्यक्तिगत सम्बन्ध कहिले नराम्रो नभएको बताउँदै उर्लाबारी नगरपाकिलालाई समृद्ध बनाउन फागोको अहम् भूमिका रहेको पनि बताउनुभयो । आगामी निर्वाचनमा कांग्रेसले अहिलेको भन्दा बढी वडाध्यक्ष र जनप्रतिनिधिमा विजयी हासिल गर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्