फागुनदेखि प्रत्येक आइतबार इलाम–काठमाडौँ उडान


इलाम – इलाम नगरपालिका–९ मा भर्खरै निर्माण सम्पन्न फाल्गुनन्द सुकिलुम्बा विमानस्थल सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ । उडान सुरु गर्न नगरपालिका र तारा एयर प्रालिबीच सम्झौतासमेत भएको छ ।

विमानस्थलमा नियमित उडान हुन नसकेकाले नगरपालिकाले नै नै पहल गरी सुरुमा १२ उडानका लागि सम्झौता गरिएको नगर प्रमुख महेश बस्नेतले बताए । सम्झौताअनुसार तारा एयरले इलाम–काठमाडौं आउ–जाउ गर्ने यात्रु नपाए प्रत्येक उडानमा ११ यात्रुबराबरको आते–जाते भाडा खर्च नगरपालिकाले नै तिरिदिनेछ ।

यसरी उडान गर्ने जहाजले १६ यात्रुु बोक्नेछ । इलाम–काठमाडौं एकतर्फी भाडा आठ हजार सात सय रुपैयाँ तोकिएको छ । तर आठ हजार सात सय रुपैयाँमा टिकट काटिएपछि आते–जाते दुवैतर्फी टिकट यात्रुले पाउनेछन् । प्रमुख बस्नेतले यात्रुलाई नगरपालिकाले नै एकतर्फी टिकट काट्दा दुईतर्फी मिलाइदिने ‘स्किम’ ल्याएको बताए । ‘जहाज नियमित उडान–अवतरण गरोस् भनेर नगरले सुरुमा बानी पार्न खोजेको हो,’ उनले भने, ‘नगरले ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, व्यापारी र खेलाडी भाडा छुटको प्राथमिकतामा छन् ।’

विमानस्थलको काउन्टरमा नगरपालिकाकै ४ कर्मचारी रहनेछन् । यहाँ राखिने कर्मचारीलाई तालिम लिन काठमाडौं पठाइँदैछ । बस्नेतले विमानस्थल कम्तीमा ३ महिना नियमित सञ्चालन गर्नेगरी सम्झौता भएको बताए । सम्झौताअनुसार यो अवधिमा इन्धनको मूल्य फरक परेमा त्यहीअनुसार भाडा समायोजन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्