प्रतिबन्धित औषधिसहित रतुवामाईबाट दुईजना पक्राउ


रतुवामाई, २ माघ । नेपालमा प्रयोग गर्न प्रतिबन्ध लगाइएको औषधिसहित प्रहरीले मोरङको रतुवामाई नगरपालिका–९ भौंडाहाबाट दुईजनालाई पक्राउ गरेको छ । प्रतिबन्धित औषधि ट्रामाडोलसहित सुनवर्षी नगरपालिका–६ का ३२ वर्षीय श्रवणकुमार ताजपुरिया र सुनवर्षी–७ का ३० वर्षीय कात्तिकचन्द दास पक्राउ परेका हुन् ।

आइतबार बिहान ९ बजेतिर पक्राउ परेका उनीहरूको साथबाट २० हजार ट्याब्लेट ट्रामाडोल फेला परेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । विशेष सूचनाका आधारमा प्रहरी चौकी इटहराबाट खटिएको टोलीले प्रदेश १–०२–०४६ प ७८६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

सडकमा तीव्र गतिमा हुँइकिरहेको मोटरसाइकल रोकेर जाँच गर्दा ठूलो परिणाममा प्रतिबन्धित औषधि ट्रामाडोल फेला परेको प्रहरीले जनाएको छ । अनुसन्धान गरेर थप कारबाही अघि बढाउन प्रहरीले दुवै जनालाई औषधि व्यवस्था विभाग विराटनगरमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्