मदन भण्डारी अस्पताल मंगलबारेले पुन : कोभिड आईसोलेशन सुरु गर्ने


उर्लाबारी, १ माघ । उर्लाबारी नगरपालिका – ३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरले पुन : कोभिड आईसोलेसन संचालन गर्ने तयारीमा जुटेको छ ।

कोभिडको नयाँ भेरियन्टका रुपमा ओमिक्रोनको संक्रमण बृद्धि हुन थाले पछि अस्पतालले पुन : कोभिड संक्रमणका बिरामीको उपचारका लागि आईसोलेशन संचालन गर्ने बिषयमा व्यवस्थापन समितिमा छलफल भएको अस्पतालले जनाएको छ ।

अस्पतालले गत बर्षको जेठ १ गतेदेखि भदौँ महिनासम्म कोभिडका बिरामीहरुलाई कोभिड आईसोलेसन संचालन गरी सेवा पुर्याएको थियो । संक्रमणको संख्यामा कमी आएपछि उक्त सेवा बन्द गरेको अस्पतालले पुन : ओमिक्रोनको सक्रमण बढ्न थालेपछि शुक्रबारको बैठकले एक उपसमिति गठन गरी संचालनको तयारीमा लागेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरेश पोख्रेलले बताउनुभयो ।

यता उर्लाबारी नगरपालिकाले भने राजघाट स्वास्थ्य चौकी दुर्गापुरीमा २०७८ बैशाख ३० गते देखि निरन्तर कोभिड आईसोलेसन संचालन गर्दै आएको छ । उक्त आईसोलेसनमा एन्टिजेन परिक्षण तथा उपचारको लागि भर्ना भएका बिरामीहरुलाई सवै सेवा निशुल्क प्रदान गर्दै आएको नगर प्रमुख खड्ग फागोले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्