मोरङमा ३० हजार नयाँ मतदाता थपिए


मोरङ, १९ पुस । फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने क्रममा मोरङमा ३० हजार नयाँ मतदाता थपिएका छन् । गत मङ्सिर १७ गतेदेखि पुस १८ गतेसम्म प्रत्येक पालिकामा प्रदेश निर्वाचन कार्यालयले मतदाता नामावली सङ्कलन गर्ने अभियान चलाएको थियो ।

अभियानअन्तर्गत मतदाता नामावली सङ्कलनमा छुटेका मतदातालाई सहभागी गराउन मोरङको चार स्थानमा भोलिदेखि पुस २९ गतेसम्म सो अभियान सञ्चालन रहने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा जानकारी गराइयो । नामावली सङ्कलनका लागि थपिएको समयमा इलाका प्रशासन कार्यालय रङ्गेली, इलाका प्रशासन कार्यालय उर्लाबारी, जिल्ला प्रशासन कार्यालय मोरङ र निर्वाचन प्रदेश कार्यालय विराटनगर मतदाता नामावली सङ्कलनको काम हुने प्रदेश निर्वाचन कार्यालय प्रमुख लेवन काश्यप अधिकारीले जानकारी दिनुभयो ।

उहाँले जिप्रका र यस कार्यालयमा नियमित फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने काम भइरहेको र छुट भएका मतदातालाई सहभागी गराउन थप जनशक्तिसहितको इकाइ चारवटै स्थानमा नामावली सङ्कलनका भइरहेकाले प्रत्येक राजनीतिक दलबाट सहयोग एवं सहजीकरण गर्न आग्रह पनि गर्नुभयो ।एक महानगरपालिका सहित सत्रवटा पालिका र छवटा निर्वाचन क्षेत्र रहेको मोरङमा यसअघि छ लाख ६९ हजार मतदाता थिए ।

प्रतिक्रिया दिनुहोस्