मिरा राई फाउण्डेशनको अध्यक्षमा खेमराज,चलायमान बनाएर अघि बढ्न सुझाव


धरान, १८ पुस – अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउने अल्ट्रा धाविका मीरा राईको नाममा स्थापना भएको मिरा राई फाउण्डेशनको अध्यक्षमा खेमराज राई चयन भएका छन् । शनिबार धरान–१५ स्थित किरात राई यायोक्खाको भवनमा सम्पन्न प्रथम वार्षिक साधारणसभाले खेमराज राईको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत् चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा हंशराज राई र ज्योत्सन राई, सचिवमा केशर राई,सहसचिवमा बिजेन्द्र राई र कोषाध्यक्षमा नुतन राई चयन भएका छन् । यस्तै, सदस्यहरुमा नरदेवी राई, सृष्टि राई, दिपा राई, ओम डिसिआर, उपेन्द्र कट्वाल, मन्त्रीमान राई, मिलन खाती, संकलन राई र सन्तोष मुक्मिन रहेका छन् ।

धरान निवासी सामाजिक व्यक्तित्व लालबहादुर राईको प्रमुख आतिथ्यतामा भएको साधारणसभाका बक्ताहरुले फाउण्डेशनलाई थप चलायमान बनाएर अघि बढ्न सुझाव दिएका थिए । भोजपुरको पौवादुङ्मा–५, सानोदुम्मामा कार्यालय रहेको फाउण्डेशनले सोही स्थानमा मिरा सामुदायिक भवन निर्माण गरेको कोषाध्यक्ष नुतन राईले बताए ।

२०७५ सालमा स्थापना भएको संस्थाले भोजपुरमा चार पटकसम्म ट्रेल रेस सञ्चालन गरेको छ । उक्त रेसमा प्रतिस्पर्धाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकहरु पनि आउने गरेको कोषाध्यक्ष राईले बताए । भोजपुर रेसका विजेताहरुले हङकङलगायतका देशमा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने उनले बताए । तर, गत वर्षदेखि कोरोना महामारीका कारण रेस सञ्चालन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्