स्वास्थ्य क्षेत्रमा उर्लाबारीको फड्को, सबै गरिब – विपन्नको विमा गरिंदै


उर्लाबारी – संविधानमै नागरिकले निःशुल्क स्वास्थ्य सेवा पाउने उल्लेख छ । निःशुल्क स्वास्थ्य सेवा पाउने जनताको मौलिक हक भनिएपनि व्यवहारमा अनुभुत गर्न सकिएको छैन । मोरङको उर्लाबारी नगरपालिकाले भने बजेटको सीमितताकै बीच स्वास्थ्य पूर्वाधार निर्माणमा जनताले अनुभूत गर्ने काम गरिरहेको छ । उर्लाबारी, जहाँ विपन्न – गरिबका लागि स्वास्थ्य बिमा लागु गरिएको छ ।

नगरका विपन्न नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा, मृतकका लागि शव बाहनपनि उपलब्ध गरिएको छ । र, नागरिकहरुलाई स्वास्थ्यको पहुँचबाट अझ नजिक बनाउन प्रत्येक वडामा स्वास्थ्य शिविर गर्न थालिएको छ । स्थायी बन्ध्याकरण शिविर पनि आयोजना गर्ने गरिएको छ । ३ नम्बर वडाको मंगलबारेमा अवस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर सदरमुकाम बाहिरकै ठुलो स्वास्थ्य केन्द्र हो । प्रदेश सरकार मातहत भएपनि नगरपालिकासंगको समन्वयमा संचालित छ ।

जटिल प्रकृतिका बिरामीलाई ट्रमा सेन्टरमा उपचारका लागि नगरपालिकाले प्रभावकारी व्यवस्था मिलाइएको छ । अहिले नगरपालिकाअन्तर्गत राजघाटमा एउटा सुविधा सम्पन्न स्वास्थ्य चौकी, एक सहरी स्वास्थ्य केन्द्र, आठ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्रसँगै सामुदायिक क्लिनिक, मातृ स्वास्थ्य क्लिनिक र राजघाटमा सञ्चालित आयुर्वेद औषधालयको व्यवस्थित पूर्वाधार निर्माण सम्पन्न भएको छ । नगरअन्तर्गत क्षयरोग माइक्रोसकोपी सेन्टर, बेसिक ल्याब, गाउँघर क्लिनिक, खोप क्लिनक, महिला स्वास्थ्यस्वंयसेविका परिचालन, डट्स सेन्टर तथा पीएमटीसी सेवा प्रदायक कार्यहरु नियमित रहेको स्वास्थ्य शाखा अधिकृत भीमबहादुर पौडेलले जानकारी दिनुभयो । हरेक क्षेत्रको एकै पटक विकास गर्नुपर्ने मुख्य जिम्मेवारी बोकेर आएपनि जबसम्म नागरिकको स्वास्थ्य सबल हुँदैन तबसम्म अन्य परिवर्तनको अर्थ रहँदैन भनेर स्वास्थ्य क्षेत्रमा विषेश जोड दिइएको नगर प्रमुख गंगाप्रसाद खरेल बताउनुहुन्छ ।

२०८०–८१ को आर्थिक वर्षमा नगरले स्वास्थ्यमा रु एक करोड ४२ लाख बजेट विनियोजन गरेको थियो । आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा बजेट थप उल्लेख्नीय बनाउने गृहकार्य भरहेको नगर प्रमुख खरेल बताउनुहुन्छ । उहाँले आफुहरु निर्वाचित भएको दुई वर्षको अवधिमा नगरको स्वास्थ्य संरचना निर्माण, जनशक्ति व्यवस्थापनमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो ।

यसै वर्ष उर्लाबारी नगरपालिकाले नगरभित्रका १९ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा सुरुवात गरेको छ । जुन कार्य स्वास्थ्य सेवा प्रवाहमा ‘माइल स्टोन’ सावित भएको छ । नगर प्रमुख खरेलले स्वास्थ्यमा नगरबासीको पहुँच वृद्धि गर्न निशुल्क बीमा कार्यक्रम सुरु गरेको बताउनुभयो । नगरका सबै वडाबाट सिफारिस भएर आएका बिपन्न तथा अपांगता भएका परिवारको स्वास्थ्य विमा गरिएको हो । प्रारम्भमा नगरभरिका १९ सय परिवारको स्वास्थ्य विमा गरिएको र आगामी वर्षहरुमा यसलाई निरन्तरता दिइने नगर प्रमुख खरेलले बताउनुभएको छ । निष्पक्ष रुपमा वडाभित्रका बिपन्न र अपांगता भएका परिवारको स्वास्थ्य विमा गरिएको र कोही छुटेको भएमा वडा कार्यालयमा सम्पर्क राख्नपर्ने नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरेश खड्काले जनाउनुभयो । आर्थिक रुपमा कमजोर भएका घरपरिवारलाई उपचारमा सहज पहुँच विस्तारका लागि उर्लाबारी नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको हो । मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीहरुलाई औषधोपचार वापत खर्च उपलब्ध गराइने कार्यविधि अनुसार चालु आर्थिक वर्षमा डेढ सय जना विरामी लाभान्वित भइसकेका छन् । औषधोपचार खर्च वितरणसम्वन्धी विद्यामान व्यवस्थालाई व्यवहारिक बनाउनुका साथै वास्तविक पीडित विरामीलाई मात्रै सहायता उपलब्ध गराउने हेतुले विरामीको अवस्था हेरी नगरपालिकाले आर्थिक सहायता वितरण गर्दै आएको छ ।
नगरपालिकाको आयोजनामा वडा नम्बर १ मा तथा वडा नम्बर ६ कार्यालयको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । अन्य वडामा पनि शिविरको तयारी थालिएको छ । प्रख्यात फिजिसियन डा. सुर्यनारायण साहका अलवा विशेषज्ञ चिकित्सकसहित सम्बन्धित वडामा रहेका स्वास्थ्यकर्मीहरु र नगरपालिकाबाट खटिने स्वास्थ्यकर्मीहरुले सेवाग्राहीको चेकजाँच तथा स्वास्थ्य परामर्श प्रदान गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । शिविरमा निःशुल्क औषधि वितरणका साथै स्वास्थ्य परीक्षणहरु गरिएको छ ।
नगर प्रमुख खरेलले स्वास्थ्य नीति, स्वास्थ्य ऐन र वार्षिक स्वास्थ्य योजनाका आधारमा नगरपालिकाले प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गरेको बताउनुभयो ।
नगरपालिका मातहतका स्वास्थ्य संस्थाले सेनेटरी प्याड वितरण, निःशुल्क गर्भवती जाँच, सुत्केरी जाँच गर्दै आएको छ। विद्यालय पढ्ने किशोरीलाई आइरन चक्की वितरण, महिलाको पाठेघर स्क्रिनिङ क्याम्प, सिकलसेल एनिमिया परीक्षण, गर्भवती, प्रसूति महिलालाई आकस्मिक उपचार सेवा, आमा सुरक्षा कार्यक्रम, पोषण कार्यक्रम, गर्भवती महिलाको निःशुल्क भिडियो एक्सरे सेवा, गाउँघर क्लिनिक र खोप कार्यक्रम सञ्चालन हुँदै आएका छन् । उर्लाबारी नगरपालिकाले ‘सुत्केरी पोषण’ कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । पछिल्लो समय सो कार्यक्रम प्रभावकारी पनि बन्दै गएको छ । वडा कार्यालयहरुले विगत वर्षहरुदेखि नै सुत्केरी भएका विपन्न महिलाहरूलाई ‘सुत्केरी पोषण’ कार्यक्रम मार्फत जोड्दै गइरहेको छ । त्यस्तै रेडक्रससंग साझेदारीमा सर्पदंश कार्यक्रम संचालित अवस्थामा छ ।

त्यसो त कार्यसम्पादन मूल्यांकनमा मोरङका नगरपालिकामध्ये उत्कृष्ट बनेको उर्लाबारी नगरपालिकाले स्वास्थ्यतर्फ प्रगति विवरणमा उल्लेख्यीय सुचक हासिल गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मुल्याङ्कन कार्यविधि, २०७८ को दफा ७ को अधिनमा रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको मुल्याङ्कन गरी अङ्क प्रदान गरि सार्वजनिक गरिएको थियो । जम्मा १६ वटा सूचकहरु मार्फत प्राप्त नतिजा सार्वजनिक गरिएको थियो । चार पटक गर्भ जाँच गर्ने महिलाको अनुपात, कुल गर्भवती महिलाको संख्यामध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, आर्थिक वर्ष २०७९–८० मा पुर्ण खोप पाएका बालबालिकाको अनुपात रहेका थिए । प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसीले नगरका सबै सूचांकहरूमा उल्लेखनीय सुधार ल्याउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिइएको र परिणामपनि सोही अनुरुप आइरहेको बताउनुभयो । स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धि गराई विविध तालिम, नवजात शिशु तथा बाल रोगको रोकथाम तथा मृत्युदरमा कमी ल्याउने उद्देश्यका साथ स्थानीय समुदाय परिचालन गरी सेवाको पहुँच र उपभोगमा वृद्धि गराउने तथा वञ्चितीकरणमा परेका समुदायमा सेवा विस्तार गर्न कार्यक्रमहरु हुने गरेका छन् । विगत आर्थिक वर्षको तथ्यांकलाई विश्लेषण गरी श्वासप्रश्वास, झाडापखला, दादुरा, निमोनिया, नियमित गर्भजाँच लगायतका स्वास्थ्य सूचकांकलाई अध्ययन गरी तुलनात्मक रुपमा अवस्था कमजोर भएका टोल, समुदायका विषयमा छलफल गरिएको स्वास्थ्य शाखा प्रमुख रेनुकाप्रसाद काफ्ले बताउनुहुन्छ । यस्तै, उर्लाबारी नगरपालिका अन्तर्गत स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा गर्ने गरिएको छ ।

अघिल्ला वर्षहरुमा नगरपालिकाले गरेका स्वास्थ्यका कार्यक्रम र त्यसले समुदायमा पारेको समग्र प्रभाव, नगरपालिकाले गरेका उपलब्धि र पूरा गर्न नसकेका कार्यक्रमका बारेमा समीक्षा गर्ने गरिएको काफ्लेले बताउनुभयो । र, गत वर्ष कार्तिक २६ गते उर्लाबारी ७ मा कहालीलाग्दो आगलागी घटना भयो । सो घटनामा परी दुई दर्जन व्यक्ति घाइते भए भने गम्भीर अवस्थाका पाँच जनाले जीवनकै आहुति दिए । त्यो भयावह अवस्थामा कतिपनि विचलित नभई उर्लाबारी नगरपालिकाले निर्वाह गरेको अभिभावकीय भुमिका स्मरणीय छ । मृतकको दाहसंस्कारको चाँजो मिलाउनेदेखि घाइतेको उपचार, जलनका विशेषज्ञ चिकित्सकसहितको टोली ल्याएर घाइतेहरुको पटकपटक फलोअपमा नगरपालिकाले अतुलनीय कार्य गरेको विदितै छ । नगरपालिकाका प्रमुख तथा उपप्रमुख राजधानीको कीर्तिपुरस्थित नेशनल वर्न हस्पिटल नै पुगेर घाइतेहरुको उपचारमा कमि हुन नदिन सक्रियपुर्वक लागि परेका थिए । सो आगलागी घटनामा नगरवासी नागरिकको उपचारका लागि संघीय र प्रदेश सरकारसंग समन्वय गर्ने, नगरपालिकाबाट थप आर्थिक व्यवस्थापन व्यहोर्ने लगायत कार्यमा उर्लाबारी नगरपालिकाको भुमिका नागरिक तहबाटै प्रशंसित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्