सिंहदेवी माविले मनायो ५२ औं वार्षिक उत्सव तथा अभिभावक दिवस


सनम रोक्का
कानेपोखरी, फाल्गुन ०८ । मोरङ, कानेपोखरी ५ मा रहेको सिंहदेवी माविले आफ्नो ५२ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।
सोमवार विविध कार्यक्रमको आयोजना गरि सिंहदेवी माविले आफ्नो ५२ औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएको हो ।
कानेपोखरी गाउँपालिकाको एक उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा परिचित यस सिंहदेवी माविले सो कार्यक्रमका बिच २०७ जना जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई प्रति विद्यार्थी ५ सय रुपैयाँ दरले रकम तथा प्रमाणपत्र प्रदान गरेको थियो । विद्यालयमा स्थापना गरिएको २१ वटा अक्षयकोषबाट आएको ब्याजको रकमले विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक धर्मराज थापाले बताए ।

साथै, सम्मान कार्यक्रम अन्तर्गत बकसबहादुर तथा भद्रमाया गुरुङ स्मृति अक्षयकोषबाट संरक्षक बलबहादुर गुरुङलाई विद्यालयले सम्मान गरेको हो भने ६ जना पुर्वशिक्षकहरुलाई पनि विद्यालयले सम्मान गरेको थियो जसमा शिक्षकहरु नविना डाँगी, बिना मगर, ओमप्रकाश रिजाल, दिपेन्द्र अधिकारी, पन्चमकुमार शाह र विनोदकुमार पासमान रहेका छन ।

शिक्षक जीवन राई वर्ष २०७९ को उत्कृष्ट शिक्षकको रुपमा सम्मानित हुँदा ११ जना शिक्षकहरुले वर्षभरि बचाउ गरि राखेको भैपरी र पर्व बिदाको दिनको ३ सय रुपैयाँका दरले जोडेर विद्यालयले शिक्षकहरुलाई रकम प्रदान गरेको थियो ।

त्यसैगरी, गत वर्ष २०७९ को वार्षिक परीक्षामा कक्षागत रूपमा प्रथम, दोश्रो र तेस्रो हुने साथै विभिन्न विद्यामा रहेर विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

विद्यालयको रेकर्ड अनुसार ५२८ जना विद्यार्थीहरु अध्ययनरत विद्यालयको सो कार्यक्रममा विद्यार्थीहरुद्वारा विभिन्न सांगितिक तथा साँस्कृतिक प्रस्तुतिहरु प्रर्दशन गरिएको थियो ।

प्रधानाध्यापक धर्मराज थापाले विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष भोजकुमार राईको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिको रुपमा पालिका उपाध्यक्ष भोलाप्रसाद अधिकारी, वडा नम्बर ५ का अध्यक्ष चरण गुरुङको विशिष्ट आतिथ्यता साथै समाजसेवी, अन्य विद्यालयका प्रधानाध्यापकहरु, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्