कानेपोखरी स्तरीय राष्ट्रपति रनिङ शिल्डमा जनसेवा मावि प्रथम


कानेपोखरी, फाल्गुन ६ । मोरङ, कानेपोखरी गाउँपालिका स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जनसेवा माध्यमिक विद्यालय, कानेपोखरी ६ रमाइलो १० स्वर्ण र ६ रजत सहित प्रथम भएको छ ।
त्यसैगरी, जनकल्याण मावि ४ स्वर्ण र १ रजत जित्दैँ दोश्रो बन्दा ३ स्वर्ण र ३ रजत आफ्नो पक्षमा पार्दै सिंहदेवी मावि तेश्रो बनेको हो ।
कानेपोखरी भित्रका १६ वटा सामुदायिक र संस्थागत विद्यालयहरुको उपस्तिथिमा दुई दिवसिय चलेको प्रतियोगिता अन्तर्गत दौड, लङजम्प, सटपुट, ज्याबलिङ थ्रो, कबड्डी, तेक्वान्दो र भलिबल खेलहरु खेलाइएको थियो ।

कबड्डि खेलमा छात्रतर्फ जनसेवा माविले प्रथम पुरस्कार हात पार्दा शिक्षा विकास मावि दोश्रो बन्यो भने छात्रा कबड्डि तर्फपनि जनसेवा माविले नै प्रथम पुरस्कार जित्दा बाल मावि दोश्रो बन्न सफल भयो ।

त्यसैगरी, छात्र भलिबल प्रतियोगितामा जनसेवा माविले प्रथम उपाधी आफ्नो पक्षमा पार्दा मकालु मोरङ बोर्डिङ स्कुलले द्धितिय पुरस्कार हात पार्‍यो भने भलिबल छात्राको प्रथम पुरस्कार रमाइलो बालजगत बोर्डिङ स्कुल जित्दा मकालु मोरङ बोर्डिङ स्कुलले द्धितिय पुरस्कार जित्यो ।

शनिबार सम्पन्न दुईदिवसिय प्रतियोगिताको समापनसँगै सम्पूर्ण खेलहरुको पुरस्कार जनसेवा मावि, कानेपोखरी ६ रमाइलोको प्राङ्गणमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुद्वारा प्रदान गरिएको थियो ।

प्रतियोगिता अवधीको अनुशासित विद्यालयको रुपमा माउन्ट हर्मोन चिल्ड्रेन एकेडेमी पुरस्कृत बन्यो । समापन कार्यक्रमको प्रमुख अतिथीका रुपमा जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राईले गरेका थिए भने विशिष्ट अतिथिको रुपमा कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारी रहेका थिए । यस्तै, वडाअध्यक्षहरु खड्ग बस्नेत, मोहनप्रसाद अधिकारी, चरण गुरुङ, शिक्षा शाखा प्रमुख बेगबहादुर काफ्ले, पालिका कर्मचारीहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विद्यालयका प्रधानाध्यापकहरूको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको अध्यक्षता युवा तथा खेलकुद विकास समितिका संयोजक चरण गुरुङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्