छोरीले गरिन आमाको काजकिरिया


सनम रोक्का
कानेपोखरी, १७ असोज । बिरलै हुने घटना । हिन्दु परम्परा अनुसार छोराको हातबाट मात्र काजकिरियाको चलन चल्ने मान्यता रहेको छ । विशेष गरि छोरीलाई कसैको काजकिरियामा सहभागी हुन नपाउने चलन रहेको छ । तर, मोरङको कानेपोखरी गाउँपालिकामा एकजना छोरीले आमाको काजकिरिया गरिरहेकी छिन ।

वडा नं. ६ स्थित हनुमान चोकमा गत असोज १४ गते ४० वर्षको उमेरमा दिवंगत भएकी आमा देवी बि.क. को १७ वर्षिया छोरी दुर्गा बि.क. सेतो कपडा लगाई काजकिरियामा बसेकी छिन । स्वर्गवास भएकी देवीका २ छोरीहरु छ्न ।

जसमध्ये दुर्गा जनसेवा मावि रमाइलो ६ को कक्षा १२ मा अध्ययनरत रहेकी छिन भने अर्की छोरी ८ वर्षिया शितल सरस्वती आवि, कानेपोखरी ६, मुलगाउँमा अध्ययनरत छिन् । स्वर्गीय देवी बि.क. लामो समयदेखी मुटु रोगबाट पीडित रहेकी थिइन ।  करिब १ महिनाको अस्पताल बसाइपछि घर फर्केकी थिइन सो अवस्थामा देवीको स्याहारसुसार जेठी छोरी दुर्गाले गरिरहेको थिइन । त्यसको केही समयपछि उनको मृत्यु भयो। देवीको मृत्यु हुँदा श्रीमान टिकाराम काठमाडौंमा ज्यामी काम गरिरहेका थिए ।

‘छोरा र छोरीमा कुनै फरक छैन, ९ महिना गर्वमा राखेर जन्म दिएपछि छोरा होस् या छोरी दुवैले उतिकै जिम्मेवार भएर दायित्व पुरा गर्नुपर्छ, आजभोलिको समयमा आएर हामी जतिको पढेलेखेका मानिसहरुले नै हो हाम्रो समाज परिवर्तन गर्ने, अब छोरीबाट पनि कर्म चल्छ भन्ने धारणा बसाउन मैले आमाको किरिया गरेकि हुँ, छोराले मात्र किरिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्न पनि म किरियामा बसेको छु’ दुर्गाले भनिन् । नेपाली समाजमा प्रायः छोराले नै किरिया गर्ने चलन छ तर आज म किरियामा बसिरहँदा सबैबाट सहयोग पाएको छु,’दुर्गा बताउँछिन ।

त्यस्तै, नेपाली समाजमा अहिले पनि छोरीबाट काजकिरियाको लागि कर्म चल्दैन भन्नेहरुको विचारका विरुद्ध आफुले छोरीलाई किरिया बस्न लगाएको बुवा टिकारामले सुनाए ।

बि.क. को पारिवारिक स्थिती निकै नाजुक रहेको छ । बिहान-बेलुकाको खाना जुटाउन पनि धौधौ पर्ने स्थिती छ । देवीको मृत्यु भएको दिन ६ नं. वडा कार्यालयले आपतकालीन सहयोग स्वरुप ५ हजार रुपैयाँ सहित केही खाद्यान्न उपलब्ध गराएको अध्यक्ष खडग बहादुर बस्नेतले बताए । उनले भने, ‘आवश्यक परेको खण्डमा पुनः हामी सहयोग गर्नेछौं’ ।
कानपोखरी ६ मा यो दोश्रो घटना हो यो भन्दा अघि कानेपोखरी ६, दहिधापमा बुवा लिलानाथ पुरीको काजकिरिया छोरी रनमाया पुरीले गरेकी थिइन ।               

प्रतिक्रिया दिनुहोस्